भोलिदेखि विद्यालय खोलेर पठनपाठन अगाडि बढाउन ललितपुर महानगरको परिपत्र

 काठमाडौं : ललितपुर महानगरपालिकाले भोलि (मंगलबार–१६ गते) देखि विद्यालय खोलेर पठनपाठन अगाडि बढाउन मातहतका सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ । महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी परिपत्रमा सर्वोच्च अदालतबाट भएको आदेशअनुसार विद्यालय खोल्न र पठनपाठन अगाडि बढाउन भनिएको छ ।

‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२-०१-१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ,’– जारी विज्ञप्तिमा भनिएको छ ।

आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । शिक्षकहरुले आज पनि २७औं दिनको प्रदर्शन गरेका छन् । शिक्षक र सरकारबीच वार्ताद्वारा समस्या समाधानको वातावरण नबन्दा देशभरका सामुदायिक विद्यालयमा भर्ना अभियानलगायतका काम प्रभावित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्