नेपाल टी-२० विश्वकप छनोटको तेस्रो चरणमा

काठमाडौं : नेपाल आइसिसी महिला टी-२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तेस्रो चरणमा पुगेको छ। शुक्रबार हुने भनिएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर-३ मा पुगेको हो।
हङकङसँग समान ५ अंक भएपनि आइसिसीको नियमअनुसार नेपाल बढी खेल जितेको आधारमा अघिल्लो चरणमा पुगेको हो। रनरेटमा पनि नेपाल हङकङभन्दा पछि रह्यो ।
नेपालले समूह चरणमा २ खेलमा जित निकालेको थियो । नेपालले दुवै खेलमा बहराइनलाई हराएको थियो । अर्को खेलमा भने हङकङ्सँग अंक बाँडेको थियो । हङकङसँगको अर्को खेल भने नेपालले ७ विकेटले हारेको थियो ।
नेपालसँगको एक खेलमात्र जितेको हङकङ बाँकी खेल भने वर्षाका कारण हुन नसकेपछि अंक बाड्न बाध्य भएको थियो ।
एसियाली छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा बिभाजन गरिएको थियो । समूह ए बाट थाइल्यान्ड र समूह बी बाट यूएई सुपर-३ मा पुगेका छन् । नेपाल भने समूह सी बाट तेस्रो चरणका लागि छनोट भएको हो । अब सुपर-३ मा तीनै समूहका विजेताबीच प्रतिस्पर्धा हुनेछ ।
सुप-३ का आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार यूएईसँग खेल्नेछ । अर्को खेल मंगलबार थाइल्यान्डसँग हुनेछ । समूहको शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोट खेल्नेछन् । ग्लोबल छनोटमा सहभागी हुने १० टोलीमध्ये अहिलेसम्म बंगलादेश, अमेरिका र स्कटल्यान्डले मात्रै स्थान पक्का गरेका छन् ।
ग्लोबल छनोटमा एसिया, युरोप र अफ्रिकाबाट समान २ तथा एसिया प्यासिफिकबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । ग्लोबल छनोटबाट ४ टोलीले विश्वकप २०२६ खेल्नेछन् ।