मध्यपुर थिमिको ३ अर्ब २५ करोडको बजेट सार्वजनिक

काठमाडौं : मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सोमवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभाको १२ औं बैठकमा नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख श्रेष्ठले नगरबासीलाई शिक्षा, स्वास्थ्य बिमा मार्फत निःशुल्क स्वास्थ्य सेवा, पूर्वाधार विकास, सिपविकास गरी स्वरोजगारमार्फत आर्थिक समृद्ध हासिल गर्ने, नगरको मूर्तअमूर्त कला सस्कृति, जात्रा पर्वको संरक्षण, पुरातात्विक सम्पदाहरुको मौलिक शैलीमा संरक्षण गरी मध्यपुर थिमि बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत यहाँको कला सस्कृतिलाई आर्थिक आयआर्जनको माध्यम बनाउने योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
“सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खेलकुद, समाजिक समावेशीकरण, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रवद्र्धन नीति तथा कार्यक्रमको प्राथमिकताको क्षेत्र रहेको छ,” नगर प्रमुख श्रेष्ठले भने , “वन वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन, कला, सँस्कृति, सम्पदा तथा पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छु ।”
भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता, गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यलाई प्रभावकारी बनाउने नगर प्रमुख श्रेष्ठले बताए । एघारौं नगरसभाबाट नक्सापास फुकुवा गरी नियमित र अभिलेखीकरण गर्न तोकिएको जरिवानामा छुटको व्यवस्था गरिएको छ । परम्परागत बस्तीमा पुरानो शैलीमा घर बनाउने घरधनीहरुलाई नगरपालिकाको प्रचलित कानून र नियमानुसार आर्थिक अनुदान तथा नक्सापासको समयमा सहुलियत दिइने बताइएको छ ।
सार्वजनिक सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने, भित्री सडकहरुमा समेत सार्वजनिक नीजि साझेदारीमा सार्वजनिक यातायातलाई सुलभ र सहज बनाउने नीति मध्यपुर थिमिको रहेको छ ।
नगरपालिकाभित्रका दाहसंस्कार स्थल र माटाका भाँडाहरु पोल्ने स्थललाईवातावरणमैत्री बनाईने भएको छ । प्रत्येक वडामा विपद व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारको व्यवस्था मिलाइने छ । शिक्षामा आ.व. २०८२/०८३ भित्र नसिङ कलेज र पारामेडिक्स कोर्स सञ्चालन गर्ने, ई–लाइब्रेरी सहितको पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने, मध्यपुर थिमि नगरपालिकालाई शैक्षिक गन्तव्य र २१ औं शताब्धीको ज्ञानविज्ञान केन्द्र बनाउने उद्देश्यसहित एक दिर्घकालिन परियोजना अगाडि बढाईने छ । कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरी पठनपाठन गराईने भएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई बिस्तार गर्दै लैजाने, क्षयरोगमुक्त नगरपालिका अभियान सञ्चालन गर्ने, लागूऔषध दुव्र्यसनको रोकथाम तथा नियन्त्रण, आत्महत्या रोकथाम र नियन्त्रणलगायतका मानसिक स्वास्थ्य प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सेवा सुविधामा थप बिस्तार गरी देशकै नमूना अस्पतालको रुपमा विकास गर्ने नीति मध्यपुर थिमिको रहेको छ ।
मध्यपुर थिमिलाई पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न नगरभित्र रहेका ऐतिहासिक, धार्मिक, साँसकृतिक र प्राकृतिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र सौन्दर्यकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, नगरभित्रका पार्क पोखरीहरुलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने, नगरभित्रका परम्परागत र मौलिक नामको अभिलेखीकरण र पुनःस्थापनाको कार्यलाई निरन्तरता दिईने नगर प्रमुख श्रेष्ठले बताए ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले कूल ३ अर्ब २५ करोड रुपैंयाको बजेट सार्वजनिक गरेका हुन् ।
नगरपालिकाको सञ्चिती कोषबाट व्यहोर्ने एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैंया मध्ये पुँजीगत तर्फ ७७ करोड ७७ लाख २८ हजार ५ सय र चालु तर्फ ७४ करोड २३ लाख ५५ हजार विनियोजन गरिएको छ । कुल विनियोजनको पुँजीगत तर्फ ५१ दशमलव १६ र चालु तर्फ ४८ दशमलव ८४ प्रतिशत रहेको छ ।
खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट ३७ करोड २४ लाख ५७ हजार ९७९, राजश्व बाँडफाँडबाट ४० करोड १३ लाख ७५ हजार ५२१, अन्तरसरकारी वित्त हस्तान्तरण संघीय सरकारबाट ६० करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट ७ करोड ९ लाख ५० हजार, लागत सहभागिताबाट एक करोड आय हुने अनुमान गरिएको छ ।