युक्रेनमा शान्तिको अर्थ आत्मसमर्पण होइन : फ्रासेली राष्ट्रपति म्याक्रोँ

तस्वीर-एजेन्सी

काठमाडौं : फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन्।  उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताए। 

रूसले युक्रेनमा आक्रमण सुरू गरेको तेस्रो वर्षगाँठको अवसरमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले युक्रेनमा शान्ति सैनिक पठाउने विचारमा प्रगति भएको बताएका छन्। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘यस वर्ष’ शान्तिका लागि आह्वान गरेपछि किएभमा युरोपेली नेताहरू पुगेका थिए। 

मङ्गलबार बिहान युक्रेनमा हवाई आक्रमणको चेतावनीको सङ्केतस्वरूप साइरन बजेपछि अधिकारीहरूले व्यापक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए। 

मङ्गलबार भएको आक्रमणमा कम्तीमा पाँच जना घाइते हुनुका साथै कैयौँ भवनमा क्षति पुगेको बताइएको छ। छिमेकी देश पोल्याण्डका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको जवाफमा सैन्य विमानहरू तैनाथ गरिएको भनेका छन्। 

संयुक्त राष्ट्रसङ्घमा, संयुक्त राज्य अमेरिकाले सोमबार दुई पटक रूसको पक्ष लिएको थियो, किनकि वासिङ्टनले आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि मस्कोको आक्रमणको कुनै पनि निन्दाबाट बच्न चाहेको थियो।

“यो शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु होइन,” ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले भने।  राष्ट्रपति म्याक्रोँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः वार्ता गर्न ट्रम्पसँग ’राम्रो कारण’ रहेको तर वासिङ्टनले कुनै पनि युरोपेली शान्ति सेनालाई ‘सहयोग’ प्रदान गर्नु महत्वपूर्ण रहेको उल्लेख गरे। 

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले बिहीबार ह्वाइट हाउसको भ्रमण गर्ने बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग युक्रेनमा शान्ति सेना पठाउने प्रस्तावमा काम गर्नेबारे कुरा भएमो पनि स्मरण गराएका छन्। 

“अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा गरेपछि अगाडि बढ्ने बाटो छ भन्नेमा म पूर्णरूपमा विश्वस्त छु,” म्याक्रोँले भने।

-एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्