अमेरिकाले इरानविरुद्ध अकारण आक्रमण गर्यो : पुटिन

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच भेटवार्ता भएको छ ।
भेटपछि पुटिनले रुसको सरकारी समाचार च्यानलमा भने, 'यो इरानविरुद्ध पूर्णतया अकारण आक्रमण हो, जसको कुनै आधार र वैध कारण छैन ।' पुटिनले अगाडी भनेका छन्, 'म धेरै खुसी छु कि तपाईं (अब्बास अराघची) आज मस्कोमा हुनुहुन्छ । यसले हामीलाई यी सबै कठिन मुद्दाहरूमा छलफल गर्ने र आजको परिस्थितिबाट कसरी बाहिर निस्कने भन्ने बारेमा सँगै सोच्ने अवसर दिनेछ ।
इरानका विदेशमन्त्री अराघचीले रुससँग इरानको धेरै नजिकको र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउदै यी सम्बन्धहरूले अब 'रणनीतिक रूप' लिएको दाबि गरेका छन् । अराघचीले इजरायल र अमेरिकाले गरेको आक्रमणले अन्तर्राष्ट्रिय नियम र मान्यताहरूको उल्लङ्घन गरेको फेरी बताएका छन् ।
यस वर्षको सुरुमा, रुसी राष्ट्रपति पुटिन र इरानी राष्ट्रपति मसूद पेजेश्कियान बीच रणनीतिक साझेदारी सम्झौतामा पनि हस्ताक्षर भएको थियो । तर यो सैन्य गठबन्धन होइन र यसले रूसलाई तेहरानको रक्षा गर्न बाध्य पार्दैन ।