सुदूरपश्चिममा संसदीय समिति सभापति चयन गर्न निर्वाचन हुँदै

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । यो बीचमा दुईपटकसम्म स्थगीत भएको प्रक्रिया आजदेखि भने अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको हो ।
प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बिहान १० बजे मतादाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको जानकारी दिए । उनकाअनुसार आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आइतबार दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्नेछ भने त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ । अहिले सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिमा सभापति छैनन् भने विशेषाधिकार समिति पनि रिक्त छ ।
सुदूरपश्चिममा ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । भागबन्डा अनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एक-एक समितिको सभापति लिनेछन् ।
उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।