नवनियुक्त प्रहरी महानिरीक्षक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका दीपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिन्हबाट सुशोभन गरेका हुन् ।
सुशोभन समारोहमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको कामना गर्दै प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र सम्वृद्ध नेपालको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । तीन दशक लामो व्यावसायिक जीवनमा प्रहरी महानिरीक्षक थापाले प्रदर्शन गर्नुभएको कर्तव्यपरायणता, व्यासवसायिक दक्षता, कार्यकुशलताको उच्च मुल्याङ्कन गर्दै नेपाल सरकारले विश्वास गरेर थप जिम्मेवारी प्रदान गरेकोमा यसलाई निष्ठापूर्वक, इमानदारीताका साथ पुरा गर्नु हुनेछ भन्ने विश्वास समेत उनले व्यक्त गरे ।
गृहसचिव दुवाडीले शान्ति सुरक्षा र सुव्यवस्था भन्ने विषय देखिने विषय मात्र नभई अनुभूति गर्ने विषय भएको चर्चा गर्दै आम नागरिकले अनुभूति गर्ने किसिमको शान्ति, सुरक्षा, सुव्यवस्था र अमन चयन मुलुकमा कायम गर्नु सबैको कर्तव्य भएको र आम नागरिकले सरकारप्रति गरेका अपेक्षाहरू पुरा गर्न सरकार सदैव क्रियाशील रहेको बताए । समाजमा नयाँ(नयाँ अपराधका क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै लागूऔषध, साइबर अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू गम्भीर सुरक्षा चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई कुशलतापूर्वक न्यूनीकरण गरेर मुलुकको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीका सकल दर्जाको साख वृद्धि गर्दै निष्ठा, इमानदारीता, कर्तव्यपरायणता एवम् जवाफदेहीता पूर्वक जिम्मेवार भई कार्यसम्पादन गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरे ।
गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक थापाको कार्यकालमा अपराधका क्रियाकलापहरू उल्लेख्य रूपमा नियन्त्रण, अपराध अनुसन्धान तथा अभियोजनमा निष्पक्षता र व्यावसायिकता, सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण, दबाब र प्रभाव मुक्त प्रहरी प्रशासन, संविधान प्रदत्त हक अधिकार तथा मानव अधिकारको पूर्ण प्रत्याभूति, कानूनको पूर्ण पालान तथा पीडितमैत्री वातावरणको सिर्जना गरी उच्च स्तरको कार्यसम्पादन गर्दै नागरिकको मनमुटु र ढुकढुकीको रूपमा नेपाल प्रहरी बस्न सफल हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको बताए । साथै नागरिकले अफ्ठ्यारो परेर नेपाल प्रहरी सम्झदा तत्काल सहायता, आड र भरोसा दिन सक्ने किसिमको चुस्त, दुरूस्त, सशक्त र जिम्मेवार नेपाल प्रहरी बनोस् भन्ने शुभकामना समेत उनले व्यक्त गरे ।