राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्ति एक जुट हुन् संयोजक सुवेदीको आह्वान

काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट हुन् पर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै राजसंस्था, हिन्दु राष्ट्र तथा बहुदलीय प्रजातन्त्रका लागि सबै शक्तिहरुले आआफ्नो ठाउँबाट लाग्न आह्वान गरेका हुन् ।

 संयोजक सुवेदीले राजसंस्थामा आस्था राख्ने सबै शक्तिहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिएको दाबी गरे ।उनले टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको बताए ।

देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने उनको भनाइ छ । उनले भने– ‘मैले जहिले पनि बोल्दाखेरि पत्रकारहरु सोध्नुहुन्थ्यो तपाईहरु आपसमा मिल्नु भएको छैन, तपाईहरु टुटफुट हुनुहुन्छ । त्यसकारण तपाईहरु कसरी राजा धर्म फर्काएर ल्याउनुहुन्छ भनेर सोध्नु हुन्थ्यो । म जहिले पनि भन्थे हामी राजावादीहरु कहिले पनि टुटफुटमा छैनौँ । हामी आवश्यक पर्दाखेरि एक हुन्छौँ भनेको थिएँ त्यसको ज्वलन्त उदाहरण आजको यो समारोह भएको छ । यहाँ विभिन्न पार्टीका विभिन्न संस्थाका साथीहरु करिव हन्ड्रेड पर्सेन्ट साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । त्यसकारण राजावादीहरु हिन्दुवादीहरु हिन्दु राष्ट्र बनाउने चाहनेहरु हामी सबै एक भएका छौँ । म छोटकरीमा तपाईंहरुलाई आग्रह गर्न चाहन्छु कि सबै जनाले आआफ्नो ठाउँबाट राजसंस्थाको पुनरस्थापना, सनातन हिन्दू राष्ट्रको स्थापना, बहुदलीय प्रजातन्त्र र यो घाँडोको रुपमा रहेको संघीयता हटाउनका निम्ति हामी सबै एकजुट भएर लागौँ, एकजुट भएर उठौँ भन्ने मेरो यहाँहरु सबैसँग अनुरोध छ ।’

संयोजक सुवेदीले चैत १५ गतेको घटनामा पक्राउ परेका आफ्ना पार्टीका नेताहरुलाई तत्काल रिहा गर्न सरकारलाई आग्रह गरे ।

उनले सरकारले आन्दोलनरत शिक्षकहरुको मागअनुसार तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्