संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ। प्रतिनिधि सभाको बैठक १ बजे र राष्ट्रिय सभाको बैठक १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने छन्। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
संसद्का दुवै सदनको बैठक आइतबार पनि बसेको थियो। संसदको हिउँदो अधिवेशन यही माघ १८ गतेदेखि सुरु भएको हो।
आजको कार्यसूचीमा पनि अध्यादेश निर्णयार्थ पेस गरिने बुँदा राखिएको छैन ।प्रतिनिधिसभामा कांग्रेस र एमालेसँग मात्रै आरामदायी बहुमत भए पनि राष्ट्रिय सभाबाट अध्यादेश पारित गर्न सरकारलाई जसपाको पनि समर्थन आवश्यक पर्छ ।
अध्यादेशबारे जनता समाजवादी पार्टी नेपालले निर्णय नगरेकाले आजको बैठकका लागि तय भएको कार्यसूचीमा पनि अध्यादेशलाई कार्यसूचीमा नराखिएको हो ।