समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन सम्भव : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाहरूको समान सहभागिता आवश्यक भएकामा जोड दिएका हुन् ।

'रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ। सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ, 'प्रधानमन्त्री ओलीले भने,'राष्ट्रपति, प्रधानन्यायाधीश लगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ। राजनीतिमा महिलाको सहभागिता बढ्दो छ। यो खुसीको विषय हो, तर हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन। हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ।'

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले भने, 'हामी अघि बढ्नुपर्छ। पछाडि फर्कनु हुँदैन। ब्याक गेयर त कहिलेकाँही घुम्तीमा मात्रै लगाउने हो। लोकमार्गमा ब्याक गेयर लगाइँदैन। लोकतन्त्र हाम्रो राजमार्ग हो।'

उनले कानुनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै उनले सम्मेलनबाट प्राप्त सुझावलाई हेरेर सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगीकरणको प्रवर्द्धनलाई प्राथमिकता दिएको बताए। उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारी लगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराए।

कार्यक्रममा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्