आग्रह र पूर्वाग्रहहरू त्यागौँ, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौँ : अध्यक्ष लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा अध्यक्ष लिङदेनले यस्तो जोड दिएका हुन् ।
राप्रपा अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताए । उनले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाए ।
अध्यक्ष लिङदेनले देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी रहेको धारणा राखे ।
सिङ्गो देशले आफूहरूलाई आशाको नजरले हेरिरहेको बताउँदै उनले दाबी गरे । अध्यक्ष लिङ्देनले आग्रहरपूर्वाग्रहहरू त्यागेर एक ठाउँमा बसी देशलाई निकास अगाडी बढ्न आह्वान गर्दै राप्रपा सदैव तयार रहेको जिकिर गरे ।
उनले भने– “आज देश विशिष्ट परिस्थितिका बीचबाट अगाडी बढिरहेको छ । हामीले हाम्रो आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको छ । भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै होइन, हाम्रो र हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको छ । यस्तो बेलामा देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन जरुरी छ । अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन । अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ, त्यस कारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह, पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडी बढौँ । राप्रपा सदैव तयार छ ।”
अध्यक्ष लिङदेनले राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजी खोजी पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।उनले गत चैत १५ गते लोकतन्त्रवादी भन्नेहरूले मानवअधिकार र लोकतन्त्र खिल्ली उडाएको भन्दै आफूहरू ठिक ढङ्गले चल्न नसक्दा सबै प्रकारका अन्याय र निरङ्कुशताहरू सहन बाध्य भएको बताए ।
अध्यक्ष लिङदेनले चैत १५ गतेको घटनापछि थुनामा रहेको राप्रपाका नेताहरूको रिहाइ र उक्त घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाब सिर्जना गर्न आह्वान समेत गरे ।