संघीयता र प्रदेश बलियो बनाउन भ्रमण फलदायी रह्यो : मुख्यमन्त्री शाह

काठमाडौं :  भारतको औपचारिक भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली आज स्वदेश फिर्ता भएको छ। 

औपचारिक भ्रमण सकेपछि टोली लखनउबाट स्थलमार्ग भएर स्वदेश फिर्ता भएको हो। भारत सरकारको आमन्त्रणमा शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो। टोलीले दिल्ली, देहरादुन र लखनउको भ्रमण गरेको छ। 

भ्रमणको क्रममा मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र तीन मन्त्रीसँग शिष्टाचार भेट  भएको थियो ।  त्यस क्रममा विविध विषयमा छलफल गरिएको थियो। 

भारत भ्रमणबाट फर्केपछि मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरी यो भ्रमणले भविष्यमा सुदूरपश्चिम प्रदेशलाई धेरै फाइदा पुग्ने बताए ।उनुभयो। खास गरेर संघीयता र यस प्रदेशलाई बलियो बनाउने विषयमा भारतसँग कुराकानी भएको  उनले बताए ।

भारत भ्रमणको क्रममा विशेष गरेर लगानी सम्मेलन, पर्यटन विकास, कृषि, ऊर्जा, कनेक्टिभिटी लगायतको विषयमा भारतसँग छलफल भएको मुख्यमन्त्रीको भनाइ थियो। यस्तै, लागुऔषधसहित सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि छलफल भएको भन्दै उनले भने,“यस विषयमा राज्यमन्त्री र दुवै प्रदेशका मुख्यमन्त्री सकारात्मक हुनुहुन्छ।”

मुख्यमन्त्री शाहले पलिया–गौरीफन्टा रोडलाई दुई लेनको बनाउन र खक्रौलादेखि भारतको तिकुनियासम्मको रोड बनाउनका लागि पनि भारतलाई आग्रह गरेको  बताए । त्यस्तै, दुवै देशबिच युथ एक्सचेन्जका विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको भनाइ थियो। 

मुख्यमन्त्री शाहले प्रधानमन्त्री केपी ओलीको पनि चाँडै भारत भ्रमण हुने उल्लेख गरे। “त्यसका लागि भारतले कतिपय तयारी धेरै अगाडि बढाइसकेको मैले त्यहाँ जानकारी पाएँ”, उनले भने । 

यस्तै, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि आफूले निम्तोसमेत दिएको शाहको भनाइ छ। 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?